काठमाडौं । लगानी प्रवद्र्धनका लागि सरकारले यही बैशाख १६ र १७ गते आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनमा अहिले विभिन्न देशबाट लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत ७ सय ७६ जना विशिष्ट व्यक्तित्व आउने निश्चित भएको लगानी बोर्डले जानकारी दिएको छ ।
लगानी सम्मेलनमा नेपालसहित चाइना, भारत, जर्मनी, बेलायत, अमेरिका, बङ्गलादेश, यूएई, जापान, दक्षिण कोरिया, पाकिस्तान लगायत ३६ देशका लगानीकर्ताहरू सहभागी हुने लगानी बोर्डले जनाएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न देशका १ हजार ४ सय भन्दा धेरैलाई निमन्त्रणा पठाइएकोमा हालसम्म ५० देशका ७ सय ७६ जनाले कन्फर्मेसन दिएको लगानी बोर्डले जनाएको छ ।
त्यसमध्ये नेपाली लगानीकर्ताको संख्या २ सय ४१ जना हुँदा चिनियाँ लगानीकर्ताको संख्या २ सय १५ जना रहेको बोर्डले जनाएको छ । भारतीय लगानीकर्ताहरुमध्ये हालसम्म १ सय १३ ले मात्रै निश्चित गरेका छन् ।
सम्मेलनमा अमेरिकाबाट ३२ जना, नापानबाट २५ जना, बेलायतबाट १४ जना, बंगलादेशबाट १३ जना र यूएई र जर्मनीबाट १०-१० जना लगानीकर्ता सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै, मलेसियाबाट ९ जना, दक्षिण अफ्रिका र अष्ट्रेलियाबाट ८–८ जना, पाकिस्तानबाट ७ जना, सिंगापुर र घानाबाट ५-५ जना, साउदी अरब, फ्रान्स र बहराइनबाट ४-४ जना सहभागी हुनेछन् ।
त्यस्तै, हालसम्म कतार, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, अष्ट्रिया र कोलम्बियाबाट ३–३ जनाले उपस्थितिको निश्चित गरेका छन् । रुस, पिलिपिन्स, श्रीलंका, कुवेत, क्यानडा, बेल्जियमबाट २–२ जना र अन्य २२ वटा देशबाट १–१ जना लगानीकर्ताहरु सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ ।