कैलाली भन्सार कार्यालयद्वारा नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन

कैलाली भन्सार कार्यालयद्वारा नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • कैलाली भन्सार कार्यालयद्वारा नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन

    अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा ५ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

    कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ २ अर्ब १८ करोड ८४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ३३ करोड १ लाख रुपैयाँ, अन्त शुल्कतर्फ १५ करोड ६ लाख रुपैयाँ र अन्यतर्फ १ अर्ब ६ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।

    कार्यालयले चालु आर्थिक बर्षका नौ महिनामा ८ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए । “पूँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ”, उनले भने, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व सङ्कलन प्रभावित भएको छ ।”

    उनका अनुसार चालु आर्थिक बर्षको साउनमा ४६ करोड ८२ लाख रुपैयाँ, भदौमा ५१ करोड ९३ लाख रुपैयाँ, असोजमा ६३ करोड १४ लाख रुपैयाँ, कात्तिकमा ६१ करोड ४६ लाख रुपैयाँ र मङ्सिरमा ७३ करोड ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा ६८ करोड ९० लाख रुपैयाँ, माघमा ६६ करोड ६७ लाख रुपैया, फागुनमा ६९ करोड १ लाख रुपैयाँ र चैतमा ७२ करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

    चालु आर्थिक बर्षमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य छ । चालु आर्थिक बर्षका नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४९.५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

    गत आर्थिक बर्षमा २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब २९ करोड ६३ लाख रुपैयाँ राजस्व भएको थियो । त्यो लक्ष्यको ६७.४१ प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij