कतारका अमिर १० मन्त्रीसहित भोली नेपाल भ्रमणमा आउँदै

कतारका अमिर १० मन्त्रीसहित भोली नेपाल भ्रमणमा आउँदै

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • कतारका अमिर १० मन्त्रीसहित भोली नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । कतारका अमिर १० मन्त्रीसहित भोली मंगलवार नेपाल भ्रमणमा आउँदै छन् । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुुई दिने नेपाल भ्रमणमा आउन लागेका हुुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी नेपाल आउन लागेका हुन् । कतारका अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुुसार, खाडी राष्ट्रबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखलाई पनि नेपाल ल्याउन सहज हुने मन्त्रालयले जनाएको छ ।  

    कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उनी दुईदिने बंगलादेशको भ्रमणको सिलसिलामा सोमबार ढाका पुग्नेछन् । मंगलबार बंगलादेशको ढाकाबाट कतारका अमिर थानी काठमाडौं आउनेछन् । कतारका अमिरको नेपाल भ्रमणका समयमा नेपाल र कतारबीच सुरुमा ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने बतायएको छ । 
     
    दुई देशबीच कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी हुुने बताइएको छ । त्यसैगरी महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

    घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ । कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको छ । कतारका अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् ।

    वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बुुधवार काठमाडौंबाट फर्कने छन् । यसअघि कतारका अमिर थानीले गत कार्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित भएको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij