काठमाडौं । वीरगञ्जबाट भन्सार नतिरेको २ करोड २० लाखको सामान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित तुल्स्यान मार्केट (पमपम बिल्डिङ्ग) बाट सो रकम बराबारको अवैध रुपमा भित्र्याइएको विभिन्न सामान बरामद गरेको हो ।
प्रहरीले भन्सार छलिको सामानसहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकाको १६ नम्बर वडाका आकाश कुमार गुप्ता र ६ नम्बर वडाका रामएकवाल कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।
उनीहरुले पमपम बिल्डिङ्गमा कोठा भाडामा लिइ सामानको गोदाम बनाएको र सोही गोदामसहित अन्य ६ वटा गोदामबाट २ करोड २० लाख रुपैयाँ बराबारको भन्सार छलीको सामान बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामानहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।