काठमाडौं । मोरङमा भेला, सम्मेलन, र्याली लगायतका गतिविधिमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि मानिसहरु जम्मा भएर गरिने गतिविधिमा रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिमा छलफल भै शान्ति सुरक्षाको खतरालाई मध्यनजर राखेर सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न यस्तो निर्णय लिइएको सूचनामा उल्लेख छ । अब मोरङ जिल्लाभर राजनीतिक भेला, सामाजिक भेला, धार्मिक गतिविधिलगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ ।
राम नवमीको दिन हिजो विराटनगर महानगरको वडा नम्बर १५ र १७ मा दुई वटा समूहको झडप भएको थियो । अवस्था थप बिग्रन नदिन प्रशासनले आज भेला र प्रदर्शनमा रोक लगाएको हो ।