काठमाडौं । वान एक्स बेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी छन् । उनीहरूले विभिन्न खेलहरूमा वान एक्स बेटमार्फत सट्टाबाजी गराउने गरेका थिए। उनीहरूलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएसका खाता खोलेका थिए। जसमा ९८ वटा बैंक खाताहरू जोडिएका थिए। उनीहरुले अहिलेसम्म ५७ करोड ४१ लाख ५७ हजार १ सय ४७ कारोबार गरेको देखिएको छ । पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।