काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।
माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । ढकाल आइएमई समूहका अध्यक्षसमेत हुन् ।
चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धनमा संलग्न ढकालले दक्षिण एसियालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् ।
दक्षिण एसियाको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता तथा धार्मिक र ऐतिहासिक सम्पदाले पर्यटनको ठूलो सम्भावना बोकेको उल्लेख गर्दै उनले त्यसलाई उपयोग गर्न सार्क क्षेत्रमै पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार आवश्यक रहेको बताए ।
उनले सार्क राष्ट्रका होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै ढकालले विभिन्न देशका पर्यटकीय गन्तव्य समेटेर साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्न सकिने बताए । यसबाट धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।
त्यस्तै, क्षेत्रीय पर्यटन विकासका लागि सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार गर्नुपर्ने उनले बताएका छन् । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्कका प्रमुख गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सके पर्यटक तथा लगानीकर्ताको आवागमन बढ्ने उनको भनाइ छ ।
यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताउँदै ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे ।
उनले दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।