कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

    काठमाडौँ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो ।

    कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ ।

    कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको सुविधाबाट लाभ लिन आग्रह गरिन्।

    यसैबीच, कार्यालयमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा आव २०८२/८३ मा २६ हजार २९१ कम्पनी दर्ता भएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा पाँच हजार ५५५ बढी कम्पनी दर्ता भएका हुन् ।

    रजिष्ट्रार श्रेष्ठका अनुसार चालु आवको कात्तिक १२ गतेसम्म १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन् । विदेशबाट फर्किएका नेपालीले त्यहाँ आर्जन गरेको सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरी व्यवसाय सञ्चालन गर्न थालेकाले पनि कम्पनी दर्ता बढेको उनले बताइन् ।

    कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयले निजी लिमिटेड, पब्लिक लिमिटेड तथा मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना, दर्ता, प्रशासन, नियमन र खारेजीसम्बन्धी काम गर्दै आएको छ ।

    कार्यालयले कम्पनीको सेयर संरचना, नाम, प्रबन्धपत्र तथा नियमावली संशोधन, एकीकरण तथा गाभ्ने–गाभिने प्रक्रिया र सेयर तथा डिबेन्चरको अभिलेख व्यवस्थापन गर्ने गर्दछ। साथै, कम्पनीले कानुनअनुसार काम गरेरनगरेको तथा आवश्यक कागजात र वार्षिक विवरण बुझाएरनबुझाएको अनुगमन गर्दै आएको छ ।

    कार्यालयमा हालसम्म तीन लाख ८८ हजार ६९० कम्पनी दर्ता भएकामा १४ हजार ९७० कम्पनी खारेज भएका छन् ।

    कार्यालयले कम्पनीका वास्तविक धनीको विवरण सङ्कलन तथा व्यवस्थापन गर्नुका साथै कानुनअनुसार सञ्चालन हुन नसकेका वा बन्द गर्न चाहेका कम्पनीको खारेजी प्रक्रिया अघि बढाउने गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij