काठमाडौं । यस वर्षको तिहारमा देशभरको मौसम सामान्यतया अनुकूल रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गर्दै पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो ।
महाशाखाले बुधबार (कात्तिक १८) जारी गरेको बुलेटिनअनुसार तिहार अवधिभर पश्चिमी वायुको सामान्य प्रभाव मात्र रहने सम्भावना छ । यस अवधिमा हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार कात्तिक २१ गते शनिबार काग तिहारका दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, कात्तिक २२ गते आइतबार लक्ष्मी पूजाका दिन पनि हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका थोरै र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
कात्तिक २३ गते सोमबार औँसीका दिन हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईमा भने मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कात्तिक २४ गते मंगलबार गोवर्धन पूजाका दिन हिमाली, पहाडी तथा कोसी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
त्यसैगरी, कात्तिक २५ गते बुधबार भाइटीकाका दिन पनि हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तिहार अवधिभर तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।