काठमाडौं । ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ को ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित भएको छ । बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको हो ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, व्यावसायिक साझेदारी, ग्राहक सेवामा नवीनता, आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई आधार मानेर बैंकलाई सम्मान गरेको जनाएको छ ।
यस अवार्डबाट सम्मानित हुने ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो । समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न प्रतिष्ठित वित्तीय संस्थालाई पनि सम्मान गरिएको थियो ।
बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका पुरस्कार प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकका अनुसार हाल यसका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय छन् ।
बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।