काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि अघिल्लो वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा निर्यातबाट प्राप्त रकम बढेको हो ।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार तथा भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत विद्युत् बिक्री गर्दै आएको छ । द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्राधिकरणका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत्मध्ये झण्डै दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आईएक्समार्फत बिक्री गरिएको थियो ।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । गत शुक्रबार बेलुकादेखि निर्यात सुरु गरिएको हो ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो ।
बाढीका कारण हरियाणा राज्यतर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो ।