काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले काटेको बुद्धचित्त (बोधिचित्त)को रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा बिक्री भइसकेको खुलेको छ ।
फूल फुल्नुअघि नै बोट काटिएको अवस्थामा फेला परेको हो । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग गर्ने गरेका छन् ।
शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित रुख धनी शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको मालाको बोट काटिएको थियो ।
करिब ३ महिनाअघि सन्दीप त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लागेको थियो । बुद्धचित्तको रुख फूल फूल्ने बेलामा कसले र किन रुख काट्यो भन्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
बुद्धचित्तको रुख काटिएको क्षेत्रबाट जनमुक्ति सेना लेखेको कपडा समेत फेला पारेको छ। यसबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
महँगो मूल्यमा बिक्री हुने भएकाले पनि बुद्धचित्तमा ठूलो खेल हुने गरेको छ। प्रहरी घटनास्थल पुग्दा बुद्धचित्तको बोट काटिएको अवस्थामा थियो भने घरको आँगनमा चारवटा घरेलु सकेट बम फेला परेको थियो ।