काठमाडौं । भारतको बेतालघाटमा जीप दुर्घटना हुँदा सात नेपालीले ज्यान गुमाएका छन् । घटनामा अर्का एक भारतीयको पनि मृत्यु भएको जनाइएको छ । नैनिताल जिल्लाको बेतालघाटमा मंगलबार गाडी १५० फुट तल खसेको हो । सो दुर्घटनामा दुईजना नेपाली घाइते भएका छन्।
दुर्घटनाको जानकारी पाएपछि ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’ गाडी खसेको स्थानमा पुगेर उद्दारकार्यमा खटिएको थियो। उद्दार टिमसँगै स्थानीय र प्रहरीको सहयोगमा ८ जनाको शव फेला परेको थियो।
मृतकहरुको नाम विश्व राम, धिरज, अन्नत राम चौधरी, विनोध चौधरी, उदय राम चौधरी, तिलक चौधरी र गोपाल भएको बेतालघाट प्ररही स्टेसनका अनिस अहमदले हिन्दुस्तान टाइम्सलाई भनेका छन्।
घाइतेहरु शान्ति चौधरी र छोटु चौधरीलाई नजिकैको अस्पताल पुर्याइएको थियो। उनीहरुको उपचार भइरहेको छ। गाडीमा नेपालको महेन्द्रनगरका ९ जना सवार थिए। गाडी चालक राजेन्द्र कुमार भने बेतालघाटकै बासिन्दा थिए। उनको पनि दुर्घटनामा मृत्यु भएको छ।