काठमाडौं । डोल्पामा मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका सैनिकमध्ये एकजनाको मृत्यु भएको छ । उपचारका लागि काठमाडौं रिफरको तयारीमा रहेका सैनिकको डोल्पा अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावत रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको हो । थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको अवस्थामै सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको ठूलीभेरी नगरपालिका– ३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका चारजना सेना घाइते भएका थिए ।
आगोमा परी घाइते भएकामध्ये दुईजनालाई सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि अन्य दुईजनाको भने जिल्ला अस्पतालमा उपचार भइरहेको थियो ।