भक्तपुर । चाँगुनारायण नगरपालिकाको ६ नम्बर वडाले जेष्ठ नागरिकलाई चन्द्रागिरी घुमाएको छ । वडाले आफ्नो क्षेत्रभित्रका जेष्ठ नागरिक र जेष्ठ एकल महिलाहरुलाई चन्द्रागिरीस्थित भालेश्वर मन्दिरको दर्शम गराएको हो ।
वडाले आयोजना गरेको उक्त भ्रमणमा करिब ४०० जना वृद्धवृद्धा सहभागी थिए । उनीहरुले केबलकारबाट चन्द्रागिरीस्थित भालेश्वर मन्दिरको अवलोकन गरे ।
भ्रमणमा सहभागी मध्ये अधिकांशको यो यात्रा नै केवलकारबाट गरिएको पहिलो यात्रा रहेको उनीहरुले बताएका छन् । आफ्नो केबलकार चढ्ने मनोकांक्षा वृद्ध अवस्थामा भए नि पूरा गरिदिएकोमा उनीहरुले वडा नम्बर ६ का जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरे ।
चाँगुनारायण नगरपालिकाको ६ नम्बर वडाका वार्षिक कार्यक्रमका लागि विनियोजित ५ लाख रुपैयाँबाट वृद्धवृद्धालाई धार्मिक भ्रमण गराइएको वडाध्यक्ष धनबहादुर लामाले बताए ।

भ्रमणलाई सहजीकरण र सहयोग गर्नका लागि नेपाल रेडक्रस सोसाइटी नगरकोट शाखा, नगरकोट हेल्थ पोष्ट, जाल्पादेवी साकोस, नगरकोट साकोसबाट स्वयंसेवक समेत खटाइएको थियो ।
