काठमाडौं । आजदेखि काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने छ ।
गरिब तथ्याङ्क संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन ।
काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न २ सय ९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् ।जसअनुसार महानगरपालिकामा १ जना गणकले १ महिनामा २ सय ५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको जनाइएको छ ।
सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१र२१ जना खटाइएको छ । उनीहरुले ट्याब्लेटमा विभिन्न विवरणहरु भर्दै तथ्यांक संकलन गर्नेछन् । त्यसका लागि गत मंगलबारदेखि चार दिनसम्म उनीहरुलाई काठमाडौं महानगरपालिकाले तालिमसमेत दिएको थियो ।