काठमाडौं । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फुयु आज पनि जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो ।
दरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित पाँचवटा स्थानीय तहमा लगाइएको कर्फ्युलाई निरन्तरता दिइएको हो ।
स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यु जारी भएपश्चात जनजीवनमा सामान्य बन्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको जनाइएको छ । सो समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।
यसैबिच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ ।
शुक्रवार हरिनगरको भुटाहाबाट चर्केको हिन्दु मुस्लिम बिचको झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो । दुवै समुदाय आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था लियन्त्रणमा लिन ८३ राउण्ड हवाई फायर र ३१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । घटनामा परी ४० बढी घाइते भएका छन् ।