काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान, स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा पाटन उच्च अदालतले झगडिया झिकाउन आदेश दिएको छ । आज पाटन उच्च अदालतमा न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै झगडिया झिकाउन आदेश दिएका हुन् । मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ।
गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए । सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ । अदालतले आजका लागि पेशी तोकेको थियो ।