नक्कली तथा झुठा बिल पेस गरी भ्याट छल्ने ९ व्यवसायीलाई कारबाही

नक्कली तथा झुठा बिल पेस गरी भ्याट छल्ने ९ व्यवसायीलाई कारबाही

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • नक्कली तथा झुठा बिल पेस गरी भ्याट छल्ने ९ व्यवसायीलाई कारबाही

    बागमती । नक्कली तथा झुठा बिल भर्पाइ पेस गरी भ्याट अर्थात् मूल्य अभिवृद्धि कर छल्ने मकवानपुरका नौ जना व्यवसायीलाई छलिएको राजस्वसहित जरिवाना गरिएको छ । आन्तरिक राजस्व कार्यालय हेटौँडाका अनुसार ती व्यवसायी माथि जरिवानासहित ६ करोड २७ लाख ६८ हजार १ सय ५८  रुपैयाँ कर निर्धारण गरिएको छ ।

    साथै जरिवानासहित निर्धारण गरिएको रकम बुझाउनका लागि आन्तरिक राजस्व कार्यालय हेटौँडाले ताकेतासमेत गर्दै आएको जनाएको छ । कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नक्कली तथा झुठा बिल भर्पाइ पेस गरी राजस्व छल्नेमाथि लामो समयको अनुसन्धानपश्चात् जरिवानासहित कर निर्धारण गरिएको छ । तोकिएको राजस्व बुझाउनका लागि सम्बन्धित व्यवसायीलाई पटकपटक पत्रसमेत दिइएको बताइएको छ ।
     
    कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्म राजस्व छल्ने काम भएको तथा त्यसबापत जरिवानासहित ६ करोड २७ लाख ६८ हजार १ सय ५८ रुपैयाँ राजस्व तोकिएको उनले बताए । ती नौ जना व्यवसायीवाट मूल्यअभिवृद्धि करको नक्कली बिलबापत १ करोड ७५ लाख १३ हजार ७ सय ८८ रुपैयाँ तथा थप जरिवानासहित आयकर निर्धारण ४ करोड ५२ लाख ५४ हजार ३ सय ७० रुपैयाँ गरी कूल ६ करोड २७ लाख ६८ हजार १ सय ५८ रुपैयाँ राजस्व वक्यौता रहेको छ । 

    पटकपटक ताकेता गरेपछि एक जना व्यवसायीबाट १ लाख ३४ हजार ९ सय ३८ रुपैयाँ मूल्य अभिवृद्धिकरसहित जरिवाना रकम असुल भइसकेको सो कार्यालयले जनाएको छ ।
     
    यसैबीच सो कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा ४ अर्ब ५ करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्राप्त विवरणमा सो अवधिमा आयकरतर्फ ७१ करोड ४३ लाख रुपैयाँ तथा अन्तशुल्कबापत २ अर्ब २४ करोड रुपैयाँ तथा मूल्य अभिवृद्धिकरबापत ७१ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सो राजस्व लक्ष्यको ७६ प्रतिशत सङ्कलन भएको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij