पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

    काठमाडौं । दैलेखमा पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ । नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा जाँदै गरेको ट्रक हिजो दुर्घटना भएको हो । 

    सडक साँघुरो र उपकरण बोकेको ट्रक ठूलो हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । ट्रक दुल्लू नगरपालिका–३ पालीमा सडकमै पल्टिएको हो ।

    ट्रकले बोकेको मेसिन र ट्रकलाई छुट्टाछुट्टै दुइवटा क्रेनले उठाइएको छ । चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् ।

    उपकरण लिएर अन्वेषणस्थल पुग्नु पर्ने १ सय २८ वटा ट्रकमध्ये अरु नेपालगञ्ज, सुर्खेत र दैलेखका विभिन्न ठाउँमा छन् । सडक साँघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका–१ को जलजले पुग्न समस्या भएको छ । दैलेख–सुर्खेतको ६५ किलोमिटर सडक अति साँघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको साँगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्ने गरेको छ ।

    यसरी कर्णाली राजमार्ग र मध्यपहाडीको सडक प्रयोग गर्दा ट्रकलाई झण्डै एक सय किलोमिटर पार गर्नुपर्छ । अन्वेषणका लागि उपकरणहरु पुर्‍याउको लागि सडक फराकिलो पार्न कर्णाली राजमार्गको सुर्खेतदेखि साँगेतडा र साँगेतडादेखि मध्यपहाडी राजमार्ग जोड्ने जम्बुकाँधसम्मको खण्ड ४ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । तर सडक फराकिलो नभएको कारण अहिले फेरि मोड सुधार गर्न लगाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij