काठमाडौं । महालेखापरीक्षकका लागि तोयम रायालाई सिफारिस गरिएकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आपत्ति जनाएको छ ।राया महालेखापरीक्षक बन्दा स्वार्थको द्वन्द्व हुने र सुशासनमा गम्भीर खलल पर्ने भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले आपत्ति जनाएको हाे ।
रायाले अर्थ सचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अधिकारीका रूपमा काम गरिसकेकाले आफ्नै कामको लेखा परीक्षण आफैंले गर्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको जिकिर छ ।
आफ्नै काम कार र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैंले गर्नु लेखापरीक्षणसम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने पनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जनाएकी छन् ।
उनले बुधबार विज्ञप्ति जारी गरेर रायालाई महालेखापरीक्षकको रूपमा तोक्दा गम्भीर समस्या आउने बताएकी छन् । लेखापरीक्षककले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसँग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउने अवस्था विचार गर्नुपर्ने अभ्यास रहेको पनि प्रधानाङ्गले भनेकी छन् ।
‘आफ्नै काम कारबाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैंले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभई यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ’, उनले भनेकी छन्, ‘तसर्थ संसदीय सुनुवाइ समितिले स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गरोस् ।’
पूर्वअर्थसचिवसमेत रहेका रायलाई संवैधानिक परिषद्को गत १८ चैतको बैठकले महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । अहिले उनको संसदीय सुनुवाइ प्रक्रिया अघि बढिसकेको छ ।