काठमाडौं । नेपाल प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी प्रति व्यापक जनगुनासो बढेको भन्दै प्रहरीले त्यस्तो निर्देशनदिएको हो ।
घुुमुवा प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो बढेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहिवार सादा पोशाकमा खटिने प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन दिएको जनाएको छ ।
सो निर्देशनसंगै अपराध अनुसन्धान शाखामा कार्यरतबाहेकका सबै प्रहरीले नियमित युनिफर्म ड्युटीको जिम्मेवारीमा रहने जनाइएको छ । प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको बताइएको छ ।