भक्तपुर । चाँगुनारायण नगरपालिकाले सरकारी एवं सार्वजनिक, जग्गा अतिक्रमण गर्नेहरुलाई ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ । नगरपालिकाले बुधवार सूचना प्रकाशितगरी सरकारी एवं सार्वजनिक, ऐलानी, पर्ती जग्गा अतिक्रमण गरि बसेकाहरुलाई हटन् निर्देशन दिएको हो ।
गत फागुन २३ गते बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक जमिनको संरक्षण गर्ने निर्णय गरे अनुसार नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक, पर्ति, ऐलानी जग्गा अतिक्रमण गरी बनेका भौतिक संरचना हटाउन बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरेको नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले बताए ।
‘चाँगुनारायण नगरपालिका भित्रको विभिन्न स्थानमा रहेका सरकारी एवं सार्वजनिक, ऐलानी, पर्ती जग्गा तथा नेपाली सेनाको नाममा दर्ता कायम सरकारी जग्गा समेत अतिक्रमण गरी विभिन्न व्यक्तिले भोग चलन गरिआएको भन्ने विषयमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
सरकारी सम्पत्तिको रुपमा रहेका सरकारी घर, भवन वा जग्गा, सडक, वाटो, नदी, खोलानाला, कुलो वा ऐलानी, पर्ती जग्गा वा सार्वजनिक सम्पत्तिको रुपमा रहेका ढल वा बाटो, कुवा, पधेरो, पानीघाट, इनार पोखरी, पार्क, मुहान वन जंगल अतिक्रमण गरी घर टहरो बनाउने, संरचना निर्माण गर्ने कार्य दण्डनीय अपराध भएकाले ३५ दिनभित्र खाली गर्न सूचनामा भनिएको छ ।
जारी सूचनामा भनिएको छ, ‘नगरपालिका क्षेत्र भित्र रहेका सरकारी वा सार्वजनिक ऐलानी, पर्ती, सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा लगायतका संरचना, अतिक्रमण र गैर कानूनी प्रयोग ३५ दिन भित्र हटाउनु पर्नेछ ।
चाँगुनारायण नगरपालिका, नगर कार्यपालिकाको २०८० फागुन २३ गतेको बैठकको निर्णयानुसार सूचनाको वेवास्ता गरी अतिक्रमण नहटाएमा उक्त संरचना हटाइने र संरचना हटाउँदा लागेको खर्चसमेत सम्बन्धितवाट सरकारी बाँकी सरह असुलउपर गरिने व्यहोरा सूचित गरिन्छ’ सूचनामा उल्लेख छ ।
