काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा आइतबार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो।
घटनामा पक्राउ परेका १८ जनामध्ये चारसहित पाँच जनाविरुद्ध मुद्दा चलाइने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाइन लागिएको जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका थप एक जना भने फरार छन्।
प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ–का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरु ८ व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।