काठमाडौं । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी हाजिर जमानीमा छुटेका छन् । शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएको प्रहरीले जनाएको छ ।
कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेको बताइएको छ ।
बिहीबार निर्देशक भण्डारीले चलाएको बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्किंदै गर्दा दुर्घटना भएको थियो ।
दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए । बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भए पनि सुशान्तको अवस्था अझै गम्भीर रहेको छ । त्यतिबेला प्रहरीले टिपरका चालकलाई पनि नियन्त्रणमा लिएको थियो। यद्यपि उनको गल्ती नभएकाले उनलाई छाडिसकेको छ ।