काठमाडौं । सवारी दुर्घटनामा परेर नवलपरासी पूर्वमा गाविस पूर्वअध्यक्षको मृत्युु भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको साविक नयाँ बेलाहानी गाविसका पूर्वअध्यक्ष भूपलाल अर्यालको दुर्घट्नामा परेर ज्यान गएको हो । सो घट्नामा परेका दुुई जनाको चितवनमा उपचार भइरहेको छ ।
मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा भएको अटो दुर्घटनामा घाइते भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले जनाएको छ । मध्यविन्दु –११ को दमारबाट अरुणखोलातर्फ आउने क्रममा अर्याल सवार ग. प्र. ०४–००१ ह ००४ नं अटो दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते उनलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो ।दुर्घटनामा घाइते मध्यविन्दु नपा–१० की ७६ वर्षीय टीका देवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्याल २०५४ सालमा नेकपा एमालेबाट नयाँ बेलाहानी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यकालमा सो गाविस देशभरमै उत्कृष्ट गाविसका रूपमा सम्मानितसमेत भएको थियो ।