काठमाडौं । राजधानीमा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । नेक्सस् इन्टरनेशनल एकेडेमी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कोटेश्वरको आयोजनामा काठमाडौ महानगरपालिका –३२ टाउन प्लानिङ कोटेश्वरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले स्कुले विद्यार्थीमाझ लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कुकर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध गरे । हरेक परिवार,समाज तथा स्थानीय तहको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षितसमाज निर्माण हुने थापाको भनाई थियो ।
प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटना बढेको उल्लेखगर्दै थापाले बिशेष गरी चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गरे । थापाले लागू औषध दुर्व्यसनका घटना बढेको भन्दै यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानीय तहहरुमा पुनःस्स्थापना केन्द्रको आवश्यकता समेत औल्याएका थिए ।
कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले लागूऔषध दुर्व्यसन, रोकथामका उपायका बारेमा तथा नेपाल प्रहरी साइबर व्यूरो भोटाहिटीका प्रहरी नायव उपरीक्षक दिपेश जोशीले साइबर अपराध–सुरक्षा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाल प्रहरीद्वारा निर्मित लागूऔषध तथा साइबर अपराध सम्बन्धी विभिन्न जनचेतनामुलक भिडियो प्रसारण गरिनुका साथै नेक्सस् इन्टरनेशनल एकेडेमीका विद्यार्थीद्वारा राष्ट्रभक्ति नृत्य प्रस्तुत गरिएको थियो ।
सो अवसरमा नेक्सस् इन्टरनेशनल एकेडेमीका प्राचार्य तथा प्याब्सन केन्द्रिय कार्य समिति महासचिब आर.बी. कटुवालले कार्यक्रमका विषयवस्तुको बारेमा जानकारी दिनुका साथै लागूऔषध सेवनले समाजमा गम्भिर घटनाहरु घटन सक्ने हुदा त्यसतर्फ सचेत हुन विद्यार्थीलाई अनुरोध गर्दै साइबर अपराधका घटनामा हरेक नागरिकलाई सजग रहन अनुरोध गरेका थिए । कार्यक्रममा बानेश्वर प्रहरी बृतका प्रमुख प्रहरी नायब उपरीक्षक शिबराज बुढाथोकी, प्रहरी अधिकारी, स्थानिय जनप्रतिनिधि,शिक्षक,विद्यार्थी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।