काठमाडौं । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाललाई ह्वाटसपमा फोन गरेर ज्यान मार्ने धम्की दिएका भनिएका एक युवकले उपमहानगर कार्यालय परिसरमै विषादी सेवन गरेका छन् । मंगलबार बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् ।
नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।
धनगढी उपमहानगरका मेयर हमालले सोमबार आफ्नो ह्वाट्एप नम्बरमा फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएका थिए ।