काठमाडौं । अछामका एक किशोरले गृहमन्त्री रवि लामिछानेलाई भाइको इच्छा पूरा गरिदिन अनुरोध गर्दै आत्महत्या गरेका छन् । उनको शव सुर्खेतको वीरेन्द्रनगरमा फेला परेको छ ।
अछामको रामारोशन गाउँपालिका–४ बाटुलासेनका १८ वर्षीय मनोज खनालको शव सम्पर्कविहीन भएको ४ दिनपछि वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको सहिद पार्कको गेट नजिक भेटिएको हो । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि परिवारको सम्पर्कविहीन रहेका उनी मृत भेटिएका हुन् ।
उनले आत्महत्या गरेको अनुमान गरेको प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । यद्यपि सुसाइड नोट उनैले लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।
भेटिएको सुसाइड नोटमा सबैसँग माफी मागिएको छ । परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको उक्त नोटमा उल्लेख छ । विशेषतः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरिएको उक्त नोटमा आफ्नो परिवारलाई सान्त्वना दिन आग्रह गरिएको छ । साथै भाइको इच्छा पूरा गरिदिन पनि उक्त नोटमा भनिएको छ ।