काठमाडौँ । काठमाडौं उपत्यकामा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको हो ।
बा ३३ प १४९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यसैगरी ललितपुर महानगरपालिका–२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर अर्का एक जनाको ज्यान गएको छ ।
करेन्ट लाग्दा सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका–४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।