अविरल वर्षाबाट १० करोड भन्दा बढी क्षति भएको अनुमान

अविरल वर्षाबाट १० करोड भन्दा बढी क्षति भएको अनुमान

आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • अविरल वर्षाबाट १० करोड भन्दा बढी क्षति भएको अनुमान

    काठमाडौँ - असोज १७ र १८ गतेको लगातार वर्षाले देशका विभिन्न स्थानमा नदी कटान, डुबान र बाढीका कारण ठूला भौतिक क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरण अनुसार बाढी र पहिरोका कारण करिब १५०० मिटर तटबन्ध बगाएको र १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

    मन्त्रालयका अनुसार झापा, मोरङ, सिरहा, रौतहट, महोत्तरीलगायतका जिल्लामा बाढी र नदी कटानका घटना बढी देखिएका छन् ।

    झापामा कन्काई र मेची नदीको कटान
    झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्गको तल्लो किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ । सो घटनाले होकलबारी गाउँका करिब ११४ घर बारी डुबानमा पारेको छ भने ५०० हेक्टर धान खेतमा क्षति पुगेको छ ।
    त्यस्तै झापा गाउँपालिका–२, कुवाडीमा पनि करिब २०० मिटर तटबन्ध कटान भई २५ हेक्टर खेतमा क्षति पुगेको र यसको अनुमानित लागत ७५ लाख रुपैयाँ बराबर भएको उल्लेख छ ।
    मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरूमा क्षति पुर्‍याउँदा ५० लाख रुपैयाँ बराबरको हानि भएको छ ।

    विराटनगर र सिरहामा बाढी र डुबान
    केशलिया (बुढी खोला) नदीमा आएको बाढीले विराटनगर महानगरपालिका–६ र १२ का बस्तीहरू डुबानमा पारेको छ । सो क्षेत्रका ७५ घरधुरी स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
    त्यस्तै कमला नदीले सिरहा जिल्लाको पूर्वी किनार पटेरुवा क्षेत्रमा तटबन्ध क्षतिग्रस्त बनाउँदा २५ लाख रुपैयाँ बराबरको हानि भएको बताइएको छ ।

    रौतहटमा लालबकैया नदीको कटान
    लालबकैया नदीले मौलापुर नगरपालिका–१ मर्यादपुर क्षेत्रमा करिब ६० मिटर र बौदीमाई गाउँमा १२० मिटर तटबन्ध बगाएको छ ।

    यसबाट ३०० हेक्टरभन्दा बढी धान खेत र करिब २०० घर–गोठ डुबानमा परेका छन् ।
    मन्त्रालयले यहाँको अनुमानित क्षतिको लागत ६० लाख रुपैयाँ बराबर रहेको जनाएको छ ।

    महोत्तरीमा रातो नदीको प्रकोप
    रातो नदीले बलवा नगरपालिका–२, १० र ११ मा ३९० मिटर, लोहारपट्टी नगरपालिका–६ मा ४०० मिटर, महोत्तरी गाउँपालिका–६ रतबारा क्षेत्रमा २० मिटर, र जलेश्वर नगरपालिका–१, ४ र ७ मा ८० मिटर गरी जम्मा ८९० मिटर तटबन्ध कटान गरेको छ ।
    सदरमुकाम जलेश्वर पनि बाढीको जोखिममा रहेको उल्लेख गरिएको छ ।

    अनुमानित क्षतिको लागत करिब ८ करोड रुपैयाँ बराबर रहेको मन्त्रालयको विवरणमा जनाइएको छ ।

    सिंचाइ आयोजनामा साना क्षति
    सिंचाइ क्षेत्रमा ठूलो क्षति नभए पनि झाँज सिँचाइ प्रणाली वरिपरि मोहम्मदपुर गाउँ डुबानमा परेको छ । सुनसरी–मोरङ, बागमती र नारायणी सिँचाइ आयोजना क्षेत्रभित्रका खोलाहरूले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक मूल्यांकन गरिएको छ ।

    सुनकोशी मरिन आयोजना डुबानमा
    सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गत निर्माणाधीन बाँध स्थल डुबाएको छ ।
    कफर ड्यामसहितका संरचनाहरूको अवस्था अझै यकिन हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

    पहाडी जिल्लामा पहिरोका घटना
    इलाम, पाँचथर, ताप्लेजुङलगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटना भएको मन्त्रालयको भनाइ छ । यी घटनाहरूको विस्तृत विवरण संकलन भइरहेको र थप क्षतिको मूल्यांकनपछि अन्तिम प्रतिवेदन तयार पारिने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij