खराब मौसमका कारण आन्तरिक उडान अवरुद्ध, केही रद्द, केही ढिलाइ

खराब मौसमका कारण आन्तरिक उडान अवरुद्ध, केही रद्द, केही ढिलाइ

शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • खराब मौसमका कारण आन्तरिक उडान अवरुद्ध, केही रद्द, केही ढिलाइ

    काठमाडौं । मौसम प्रतिकूल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रभावित भएका छन् । विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला गन्तव्यतर्फका अधिकांश उडान रद्द वा ढिलाइ भएका छन् ।

    शनिबार बिहान ६ बजे तय गरिएको समिट एयरको पहिलो उडान रद्द भएको छ भने ७:२० मा हुने अर्को उडान पनि स्थगित गरिएको छ । यस्तै, सिता एयर र तारा एयरका लुक्ला जाने सबै उडान ‘मौसमी कारण’ देखाउँदै ढिला भएका छन् ।

    बुद्ध एयर, यति एयरलाइन्स, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सका अन्य गन्तव्यतर्फका उडान भने केही ढिलाइका साथ सञ्चालनमा छन् । बुद्ध एयरका भद्रपुर, भैरहवा, धनगढी, जनकपुर, विराटनगर, पोखरा र भरतपुर उडानमध्ये केही ‘बोर्डिङ’ मा रहेका छन् भने केही ढिलो प्रस्थान भएका छन् । श्री एयरलाइन्सका सुर्खेत र नेपालगन्ज जाने उडानहरू पनि करिब दुई घण्टासम्म ढिलाइ भएका छन् ।

    नेपाल एयरलाइन्सको इलाम उडान ढिलो भए पनि फाप्लु र खानीडाँडा गन्तव्यका उडान सम्पन्न भएका छन् । विमानस्थलले मौसममा सुधार आएपछि बाँकी उडानहरू सञ्चालन गर्ने जनाएको छ ।

    मौसम बिग्रिएपछि काठमाडौंस्थित आन्तरिक टर्मिनलमा उडान–अवतरण अस्थायी रूपमा रोकिएको छ, जसका कारण यात्रुहरूको भीड लागेको छ । कतिपय वायुसेवा कम्पनीहरूले यात्रुहरूले काटेका टिकटहरू क्यान्सिल गराइरहेका छन् ।

    कोशीदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म वर्षा भइरहेका कारण मौसम पूर्वानुमान महाशाखाले पानीको मात्रा अझ बढ्ने अनुमान गरेको छ । यस्तै, केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेकका सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij