काठमाडौं । लगातारको वर्षासँगै खसेका पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्डमा यातायात अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन खण्डअन्तर्गत तुइन खोलामा र मुग्लिन–नागढुंगा खण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि दुवै तर्फको सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।
अहिले पनि वर्षा जारी रहेकाले ढुंगा–माटो झर्ने क्रम नरोकेकाले पहिरो पन्छाउने कार्य सुरु गर्न नसकिएको सडक डिभिजनले जनाएको छ । बारम्बार पहिरो खस्ने यो क्षेत्रमा सडक अबरुद्ध हुँदा यात्रुहरु सास्ती भोग्दै आएका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन खुला भए पनि केही स्थानमा स–साना ढुंगा खसिरहेको जनाउँदै यात्रामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।