काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
विभागका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय मौसमी प्रणाली भारत हुँदै नेपाल प्रवेश गर्ने भएकाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने देखिएको छ । यस अवधिमा विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव बढ्दै खतरा तह नजिक पुग्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा आकस्मिक बहाव, डुबान र पहिरोको जोखिम बढी रहेको चेतावनी दिइएको छ ।
दसैंको यात्राको चापलाई मध्यनजर गर्दै प्राधिकरणले अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न, विशेषगरी राति यात्राबाट बच्न आग्रह गरेको छ । साथै, स्थानीय प्रशासनले आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन सक्ने भएकाले त्यसको पालना गर्न सबैलाई अनुरोध गरिएको छ ।
नदी किनार र पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्ने समुदायलाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन सुझाव दिइएको छ । जोखिमयुक्त सडक र राजमार्गमा तत्काल प्रयोग गर्न डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायलाई निर्देशन दिइएको छ ।
विभागले हरेक अद्यावधिक सूचना आफ्नो वेबसाइट, सामाजिक सञ्जाल र टोलफ्री नम्बर ११५५ मार्फत उपलब्ध हुने बताउँदै सतर्क रहन आग्रह गरेको छ ।
