फूलपाती तथा कालरात्रि देवीको पूजा आराधना, टुँडिखेलमा सैनिक बढाइँ

फूलपाती तथा कालरात्रि देवीको पूजा आराधना, टुँडिखेलमा सैनिक बढाइँ

सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • फूलपाती तथा कालरात्रि देवीको पूजा आराधना, टुँडिखेलमा सैनिक बढाइँ

    काठमाडौं । आज आश्विन शुक्ल सप्तमी अर्थात् नवरात्रको आठौँ दिन देशभर कालरात्रि देवीको पूजा आराधना तथा फूलपाती पर्व मनाइँदैछ ।

    वैदिक सनातनी परम्परा अनुसार सप्तमीका दिन कालरात्रि देवीको विधिपूर्वक पूजा गरिने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्र दशरात्र बनेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कृष्णवर्णकी भयङ्कर स्वरुपकी कालरात्रि देवी प्राणीलाई नष्ट गर्ने काललाई समेत नष्ट गर्ने शक्तिको प्रतीक मानिन्छ ।

    यसै अवसरमा दशैं घर वा पूजा कोठामा शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । नवपत्रिका भनिने फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानवृक्ष भित्र्याइने परम्परा छ । यी नववटी देवीको रूपको रुपमा पूजा गर्ने वैदिक विधि रहिआएको समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले बताए ।

    राजधानीमा भने गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दशैंघरमा भित्र्याउने परम्परा छ । जमलदेखि हनुमानढोकासम्म उच्च अधिकारी, गुर्जु पल्टन, सांगीतिक बाजा तथा सांस्कृतिक झाँकीसहित फूलपाती ल्याइन्छ । यस वर्ष सोमबार अपराह्न साँढे चार बजे फूलपाती भित्र्याइने कार्यक्रम तय भएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

    यस्तै, नेपाली सेनाले पनि आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा फूलपाती बढाइँ समारोहको आयोजना गर्दैछ। समारोहमा सैनिक परेड, दुर्गा नाच, तोप राइफल बढाइँ, हेलिकप्टरमार्फत पुष्पवृष्टि र व्यानर प्रदर्शन हुने छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थित रहनेछ ।

    यसरी सप्तमीका दिन कालरात्रि देवीको पूजा, घरघरमा फूलपाती भित्र्याउने परम्परा र सेनाद्वारा टुँडिखेलमा गरिने बढाइँसँगै बडादसैँको चहलपहल अझै बढेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij