काठमाडौं । अघिल्लो वर्ष असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र त्यससँगै आएका बाढी तथा पहिरोको एक वर्ष पूरा भएको छ । उक्त विपद्ले जनधनसँगै बीपी राजमार्गलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।
घरबास गुमाएका काभ्रेका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताको सहयोग उपलब्ध गराएको छ । जिल्लाका १३ पालिकामा रहेका तीन हजार एक सय २८ जनालाई पहिलो किस्ताबापत सात करोड ७९ लाख २५ हजार रुपैयाँ वितरण गरिएको तथ्यांक जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ । यसमध्ये हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले मात्र दोस्रो किस्ताको रकम प्राप्त गरेका छन् ।
तर, एक वर्ष बितिसक्दा पनि बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । विस्तृत क्षति मूल्यांकनको काम भइरहेको जनाइएको छ । उक्त विपद्मा काभ्राका ८१ जनाले ज्यान गुमाएका थिए भने छ जना अझै बेपत्ता रहेका छन् ।