काठमाडौं । काठमाडौंको रातोपुलबाट प्रहरीले सुनचाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी समूहले आयोजना गरेको प्रदर्शनकै क्रममा भएको चोरी र लुटपाट घटनाको अनुसन्धानकै क्रममा उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुर हेटौंडाका १८ वर्षीय अगम प्रजा रहेका छन् । उनीहरूबाट सुनचाँदीका गहना, नगद १३ हजार रुपैयाँ र लत्ताकपडा बरामद गरिएको छ ।
गत २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला काठमाडौं महानगरपालिका–३०, रातोपुलस्थित एक घरमा ढुंगामुढा, तोडफोड तथा आगजनी गर्दै गहना र नगद चोरी गरिएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती तीनैजनामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन् ।