भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका नौवटा वितरण केन्द्रमा पु¥याउँने लक्ष्य लिएको छ । प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार, केन्द्रले चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने गरी सम्पुर्ण तयारी भएको छ ।
कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमध्ये ९५ प्रतिशत पाठ्यपुस्तक छपाइको काम सम्पन्न भएको झाको भनाई छ । चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक छपाइको काम सकेर चैत १५ गतेदेखि नै पुस्तक वितरण सुरु गर्ने र शैक्षिक सत्र सुरु हुँदासम्म सबै कक्षाका विद्यार्थीको हातहातमा पूरै सेट पाठ्यपुस्तक पु¥याउँने झाले बताए ।
केन्द्रले अहिले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ । आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने बताइएको छ ।
केन्द्रले पहिलो चरणमा हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा पुस्तक वितरण गर्ने लक्ष्य लिएको छ । केन्द्रले आउँदो शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।