काठमाडौं । सिन्धुलीस्थित नेपाल टेलिकम टावर परिसरमा बम विष्फोट भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा शुक्रबार बिहान ३ बजे कुकर बम बिष्फोट भएको हो ।
दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएपनि टेलिकम टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
टेलिकमको टावर परिसरभित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।