काठमाडौं । ‘जेनजी’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि धेरैजसो मन्त्रालयमा भौतिक क्षति भएको छ । तथापि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयमा कम क्षति भएको पाइएको छ ।
सवारीसाधनमा क्षति पुगे पनि अन्य भौतिक संरचना अथावस्थामा रहेकाले कार्यालय सञ्चालनमा सामान्य मात्रै कठिनाइ भएको ती मन्त्रालयले जनाएका छन् ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले मन्त्रालयका धेरैजसो सवारीसाधनमा क्षति भएको जानकारी दिए । उनले मन्त्रालयको भूँइतलामा केही क्षति भए पनि अन्य स्थानमा ठूलो क्षति भएको छैन ।
सहसचिव पराजुलीका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छभने आजदेखि अधिकांश कर्मचारी कार्यालयमा उपस्थित भएका छन् । “क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । नियमित रूपमा कार्यसञ्चालनका लागि आवश्यक तयारी गरिएको छ । धेरै क्षति नभएकाले काम गर्ने अवस्था छ”, उनले भने ।
मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण सङ्कलन गर्न र वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाहलाई नियमित बनाउन आग्रह गरिसकेको सहसचिव पराजुलीले जानकारी दिए । सबै स्थानीय तहलाई सेवा प्रवाहमा वैकल्पिक व्यवस्था गर्न र क्षतिको विवरण जानकारी गराउन भनिएको उनले बताए ।
“प्रशासनिक सेवा सञ्चालन गर्न लागिएको छ । अन्य विवरण सङ्कलन भइरहेको छ । मन्त्री, सचिव, सहसचिव चढ्ने अधिकांश सवारीसाधन जलेर ध्वस्त भएकाले केही समस्या भएको छ । यही भदौ २३ गते मन्त्रालयका अधिकांश सवारीसाधन सुरक्षाका हिसाबले सहज हुने भन्दै सिंहदरबार परिसरमा नै राखिएका थिए”, सहसचिव पराजुलीले भने ।
मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा भने क्षति भएकाले अन्य कोठामा व्यवस्थापन गरिएको छ । सवारीसाधनको अभावमा वैकल्पिक व्यवस्था गरेर कार्यालय आउन कर्मचारीलाई भनिएको र सोहीअनुसार काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
आन्दोलनका कारण युवा तथा खेलकूद मन्त्रालयमा पनि छिटफुटबाहेक धेरै क्षति भएको छैन । यस मन्त्रालयमा पनि सवारीसाधनमा भने क्षति पुगेको छ । सहसचिव सुवास शिवाकोटीले सवारीसाधनमा क्षति भए पनि मन्त्रालय खासै समस्या नभएको र मातहतका कार्यालयको अवस्था पनि राम्रो रहेको बताए ।
यस मन्त्रालयमा कूल २२ सवारीसाधनमध्ये १३ वटा चालु अवस्थामा रहेकामा त्यसमा चार वटामा क्षति भएको छैन । मन्त्री आवासस्थल भँैसेपाटीमा मन्त्री चढ्ने दुई वटा सवारीसाधन भने आगलागीका कारण जलेका छन् ।
“मन्त्रालय भवनका एकाध सिसा भने फुटेका छन् । परिसरमा अन्य क्षति भएको छैन । त्यसैले यथाअवस्थामा कार्यालय सञ्चालनमा कुनै समस्या देखिएको छैन”, उनले भने,“मातहतका कार्यालयमा पनि ठूलो क्षति भएको छैन । कामको प्रारम्भ गरिसकेका छौँ । सरसफाई एवम् मुचुल्काको काम पनि भइरहेको छ । सवारीसाधनको क्षतिका सन्दर्भमा बीमा दाबीलगायत विषयमा प्रारम्भिक विवरण तयारी भइरहेको छ ।”
मन्त्रालयको मन्त्रीको गोप्य कार्यकक्षको झ्याल र सचिवको कार्यकक्षको सिसा फुटेको छ । केही झ्यालको पर्दा जलेको छ भने सवारीसाधनमा आगलागी हुँदा भवनको केही भागमा कालो बसेको छ । मन्त्रालयको कागजी अभिलेखमा भने कुनै क्षति नभएको जनाइएको छ ।
मन्त्रालय मातहत कर्मचारी थोरै छन् । मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारी भने स्वतःस्फूर्त रूपमा आज कार्यालय आएको सहसचिव शिवाकोटीले जानकारी दिए ।
पर्यटन मन्त्रालयको काम नियमित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आजबाट मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीका ‘जेनजी’ प्रदर्शनका कारण भदौ २७ सम्म सबै निकायको काम स्थगित भएको थियो । उक्त दिनसम्म निषेधाज्ञा रहेको, २८ गते शनिबार परेकाले आज २९ गतेदेखि नियमित रूपमा सबै सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएका छन् ।
मन्त्रालयले सामान्यका काम सञ्चालन गरेको र पूर्वघोषित कार्यक्रम तथा आगामी कार्यक्रम भने मन्त्री बहालीपछि मात्रै हुने मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयमा धेरै क्षति भएको छैन । भूँइतलाको केही भm्यालका सिसा फुटेका छन् । केही गाडीमा क्षति भएको छ । त्यसबाहेक खासै समस्या भएको छैन । आज मन्त्रालयमा पुग्दा सचिव हरिप्रसाद मैनाली कार्यकक्षमा नियमित काम र भेटघाटनमा व्यस्त थिए । मन्त्रालयका विभागीय, मातहत निकायका प्रमुखले आ–आफ्नो कार्यालयको ब्रिफिङ गरिरहनुभएको थियो । मन्त्रालयका अधिकांश कर्मचारी कार्यालयमै थिए ।
मन्त्रालयअन्तर्गतको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित पुरानो भवनमा भने आगजनी भएको छ । बबरमहल कार्यालयका कर्मचारीले सिनामङ्गलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा काम गरिरहेका छन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार प्रशासन, अर्थ, आन्तरिक लेखापरीक्षण र गुणस्तर, ‘कम्युनिकेशन नेभिगेशन’, अग्नी निवारण, आन्तरिक विमानस्थल तथा सुविधा विभाग, कानुन शाखा, ‘एटीएम’ विभाग र महानिर्देशकको सचिवालयलगायत संरचना आगजनीबाट जलेर ध्वस्त भएका छन् । केन्द्रीय पुस्तकालय र स्टोरमा भएका सम्पूर्ण सामग्री जलेर नस्ट भएका छन् । १२ भन्दाबढी सावरीसाधन जलेका छन् ।
कार्यालयमा भएको क्षतिबारे अध्ययन गर्न प्राधिकरणका प्रवक्ता बाबुराम पोखरेलको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको प्रवक्त भूलले जानकारी दिए । कार्यालयमा भएको क्षतिको विवरणबारे मूल्याङ्कन गरेर प्रतिवदेन बुझाउन १५ दिनको समय दिइएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा तोडफोड भएको छ । निगमका आधा दर्जन गाडीमा आगजनी गरिएको छ । निगमको प्रशासनिकलगायत सम्पूर्ण काम सामान्य रूपमा सञ्चालन भइरहेको निगमले जनाएको छ ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले नियमित काम सञ्चालन भइरहेको बताए । उनका अनुसार विभागमा पनि कुनै क्षति भएको छैन । कार्यालयका दुई वटा गाडीमा क्षति पुगेको छ ।