काठमाडौं । नेपाल महिला संघले हालैको जेनजी आन्दोलनमा देखिएको कठोर दमन र देशमा बनेको असामान्य राजनीतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै लोकतन्त्र र संविधानको रक्षा गर्न सबैलाई एकजुट हुन आग्रह गरेको छ ।
संघले जारी गरेको विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गते अभिव्यक्ति स्वतन्त्रता र सुशासनको माग गर्दै सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरूले शहादत प्राप्त गरेको घटनामा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिएको छ ।
“आन्दोलनमा अराजक तत्त्वहरूको संलग्नताले सिंहदरवार, सर्वोच्च अदालत, संसद भवनलगायतका राष्ट्रिय सम्पदामा गम्भीर क्षति पुगेको घटनाले संघलाई दुःखी र चिन्तित बनाएको छ,” विज्ञप्तिमा भनिएको छ । संघले शेरबहादुर देउवा र डा. आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा गर्दै दुबै नेताको स्वास्थ्य सुधारको शुभकामना व्यक्त गरेको छ ।
संघले आन्दोलनका क्रममा भएको सम्पत्ति क्षति र नागरिकमाथि भएको दमनबारे निष्पक्ष न्यायिक छानबिन गर्न र दोषीलाई कानूनी कारबाहीमा ल्याउन जोड दिएको छ ।
२०७२ सालको संविधानकै आधारमा मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिँदै संघले भनेको छ, “संविधान बाहिरको समाधान प्रतिगमन मात्र हुनेछ, त्यसैले सबै पक्षले विवेकपूर्ण र जिम्मेवार निर्णय लिनुपर्छ ।”
अध्यक्ष उषा रावत मिश्रको हस्ताक्षरयुक्त विज्ञप्तिमार्फत संघले लोकतन्त्रप्रेमी नेपाली, संस्था तथा शक्तिहरूलाई संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षार्थ आ–आफ्नो स्थानबाट योगदान गर्न अपिल गरेको छ । संघले संविधानलाई नै देशको अस्तित्वको आधार भन्दै यसको विकल्प नभएको स्पष्ट पारेको छ ।

