काठमाडौं । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् । गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई प्रहरीले बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हाे ।
फागुन २५ गते राति ८२ वर्षीया हजुरआमा नरमाया विकलाई पैसा नदिएको निहुँमा लागुऔषध सेवन गरेका नाति धिरजले अन्धाधुन्ध रड प्रहार गरेकाे प्रहरीले जनाएकाे छ । रड प्रहारबाट ज्यान गुमाएकी हजुरआमालाई नाति धिरजसहित चारैजनाले मिलेर घर नजिकैको ग्वालीमा शव गाडेका थिए । पक्राउ परेका अभियुक्त धिरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
पाँच दिनदेखि आमा हराइरहेको भन्दै वृद्धाका छोरा रमेश विकले बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए । उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।