काठमाडौं । देशभरबाट आएका सहकारी पीडितहरुले आज काठमाडौंमा आन्दोलन गर्दैछन् । उनीहरुले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर भृकृटी मण्डपमा एकीकृत सभा गर्ने जानकारी दिएका छन् । सरकारी पीडितहरुले काठमाडौं उपत्यकाको सवारी आवागमन अवरुद्ध हुनसक्ने जानकारी पहिलेनै गराएको बताएका छन् ।
काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका हुन् । उनीहरु देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका थिए । पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर सभा गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट बिहान ११ बजे पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने छन् । सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । महासंघका अध्यक्ष कुशलभ केसीले आफूहरुले सरकार समक्ष राखेका माग आज सम्बोधन नभए सबै पीडितहरु सहकारी विभागमा गएर बस्ने चेतावनी दिए ।