काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु भएको छ ।
शनिबार बिहान करिब ५:४० बजे चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलाललाई श्वासप्रश्वासमा समस्या देखिएपछि कारागारको स्वास्थ्य टोलीले प्राथमिक उपचार गरेको थियो । त्यसपछि सुधार देखिए पनि नुहाउन बाथरूम गएको एक मिनेटमै उनी गम्भीर बनेर लडेका थिए। अचेत अवस्थामा उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा बिहान ६:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृत्युको कारण पोष्टमार्टमपछि मात्र पुष्टि हुने छ । हाल भीमफेदी कारागारमा ५०० भन्दा बढी कैदी छन् र दुलाल ‘क’ ब्लकमा बस्दै आएका थिए ।
दुलाललाई चितवन जिल्ला अदालतले १० माघ २०७८ मा जबर्जस्तीकरणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो । उनी १३ साउन २०७९ देखि भीमफेदी कारागारमा रहेका थिए ।