बिपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • बिपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

    काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा थप १५ दिन राती सवारी सञ्चालनमा रोक लगाइएको छ । बाढी पहिरोको  जोखिम अझै कायम रहेको भन्दै स्थानीय प्रशासनले भदौ १५ गतेसम्म राती सवारी सञ्चालन गर्न रोक लगाएको हो । 

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बाढी पहिरोको जोखिम बढेको भन्द्र गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 

    राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको सो कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । 

    उनका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । 

    यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको थियो । त्यसैगरी साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । 

    गतसाल असोज १२ गतेको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।

    बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij