काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २७ साउनमा लिने विश्वासको मतको पक्षमा तीन बुँदे ह्वीप जारी गरेको छ । बैठकले सांसदहरूलाई अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मतदान गर्ने निर्देशन दिएको हो ।
बैठकमा ९ सदस्यीय कार्यसमिति गठन, सुरजचन्द्र लामिछानेलाई प्रवक्ता तोक्ने र लामिछाने, छिरिङ दोर्जे लामा तथा विनु रायमाझी पौडेल सदस्य रहने ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय भएको छ ।
प्रदेशसभा बैठक २७ साउन दिउँसो ४ बजे बस्नेछ भने कांग्रेस संसदीय दलको बैठक सोही दिन दिउँसो १ बजे हेटौंडामा हुनेछ ।
यसबीच, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले काठमाडौंमा छुट्टै बैठक गरी विश्वासको मत विषयमा छलफल गरिरहेको छ । लामा पक्षले २० साउनको मन्त्रिपरिषद् विस्तारमा आफ्ना तीन सदस्यलाई मन्त्री नियुक्त नगरेको भन्दै असन्तुष्टि जनाएको छ र आज सभापति शेरबहादुर देउवालाई भेट्ने तयारी गरेको छ ।