धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप हुँदा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुने धनगढी–४ का ४० वर्षीय भरत चौधरी लागुऔषध मुद्दामा थुनामा थिए । शुक्रबार राति ११ बजे झडप भएपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो, तर त्यहीँ उनको मृत्यु भयो। उनकाे शव अस्पतालकै शवगृहमा राखिएको छ ।
घाइतेमध्ये सबैको अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई डिस्चार्ज गरिएको कारागार प्रशासनले जनाएको छ ।
निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारमा ए, बी र महिला गरी तीन ब्लक छन् । शुक्रबारको झडप ए र बी ब्लकका कैदीबीच भएको हो । टीकापुरको कर्तव्यज्यानसम्बन्धी एउटै मुद्दामा संलग्न १८ कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको बेला उनीहरूबीच ‘नाइके–भाइके’ बन्ने विवाद चर्किँदा कुटाकुट भएको बताइएको छ ।
यसअघि बिहीबार पनि कैदी स्थानान्तरणको विषयलाई लिएर झडप हुँदा पाँच जना घाइते भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी र कारागार प्रशासनले जनाएको छ ।