काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आगामि बैशाखमा विधान संशोधनको लागि महाधिवेशनको आयोजना गर्ने भएको छ । रेडक्रस केन्द्रीय कार्यसमितिको फाल्गुण २७ देखि २९ गतेसम्म राष्ट्रिय तालिम केन्द्र बनेपामा सञ्चालित ३२२ औं बैठकले सो निर्णय गरेको हो ।
बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउनुुका साथै देशव्यापी छलफल प्रकृयाबाट प्राप्त सुझावबमोजिम रेडक्रसको रूपान्तरणको लागि सबैको साझा रेडक्रसको मर्मलाई आत्मसाथ गर्ने निर्णय समेत गरेको जारी बिज्ञप्तीमा जनाइएको छ । रेडक्रसको मौजुदा विधानमा समसामयिक सशोधन गर्न आवश्यक भएकाले व्यापक छलफल गरी नीति, कार्यक्रमसहित पास गर्न महाधिवेषन गर्न लागिएको बिज्ञप्तीमा जनाइएको छ ।
गत साउन १ र २ गते सम्पन्न निर्वाचनबाट गठित केन्द्रीय कार्यसमितिले नेपाल सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरू मार्फत् मानवीय कार्यमा अघि बढ्दै आएको छ । सोहि समितिले लामो समयदेखि रोकिएको संस्थाको नवीकरणका समेत सम्पन्न गरेको छ ।
रेडक्रस ऐन तर्जुमा गरी नेपाल रेडक्रस सोसाइटीको कानुनी आधार सबल बनाउन नेपाल सरकारबाट गठित कानुन मस्यौदा तर्जुमा समितिमा रेडक्रसका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालसहितको टोलीले आवश्यक प्रकृया अघि बढाउँदै आएको बिज्ञप्तीमा जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) द्धारा भियतनाम रेडक्रस सोसाइटीको आतिथ्यमा आयोजित ११औं एसिया प्रशान्त सम्मेलन र स्वीट्जरल्याणको जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय महासंघको विशेष महासभामा रेडक्रसका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल नेतृत्वको टोली सहभागी भएको थियो ।
यीं अन्तर्राष्ट्रिय वैधानिक सभाहरूमा नेरेसोको सहभागिताले साझेदारलगायत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुदृढ गर्नमा सहयोग पुगेकोे बिज्ञप्तीमा उल्लेख छ । डोटी भूकम्प र कर्णाली भूकम्प प्रतिकार्यलगायत नेरेसोका मानवीय सेवामा सोसाइटीका सबै निकायले सेवामूलक र वैधानिक गतिविधिहरू निरन्तर सञ्चालन भइरहेको नेपाल रेडक्रसले जनाएको छ ।