काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरिएको हो ।
बोर्डको क्यालेन्डर अनुसार साउन १५ गते भित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो। तर, चैत २० गतेदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो।
गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ ।
ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।