कल्पेश्वर महादेव, कालिकादेवीलगायत मन्दिर निर्माण गर्न बजेटको व्यवस्थापन गरिने

कल्पेश्वर महादेव, कालिकादेवीलगायत मन्दिर निर्माण गर्न बजेटको व्यवस्थापन गरिने

बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • कल्पेश्वर महादेव, कालिकादेवीलगायत मन्दिर निर्माण गर्न बजेटको व्यवस्थापन गरिने

    भक्तपुर ।  उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चाँगुनारायण नगरपालिका–८ कलमसीमा रहेको कल्पेश्वर महादेव, कालिका देवी र २७ फिट लामो कालीनागको पूजा एवं हवन गरेका छन् ।

    कलमसी कल्पेश्वर महादेव तथा कालिकादेवी मन्दिर संरक्षण समाजले आज यहाँ आयोजना गरेको १३औँ नाग पञ्चमी मेला तथा २७ फिट कालीनागको विशेष रुद्री पूजा कार्यक्रममा उहाँले शिवलिङ्गमा पूजा गर्नुका साथै नजिकै रहेको कालीनागको पूजा अर्चना गरे ।

    त्यस अवसरमा प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष जनक खत्री, शिव तान्त्रिक बुद्धिकुमार खड्गीलगायतले महादेव र कालीनागको पूजा एवं हवन गरेका थिए ।

    मन्त्री सिंहले कलमसीमा निर्माण सुरु भएको १०८ फिट अग्लो बस्नुभएका महादेवको मूर्ति निर्माणको जग हालेर काम सुरु भएको १३ वर्ष बितेकाले अब यसलाई पूर्णता दिन तीन तहकै सरकारले सहयोग गर्नुपर्ने बताए।

    उनले आफ्नो मन्त्रालयबाट यसवर्ष मन्दिरलाई पूर्णता दिन बजेटको व्यवस्थापन गरेको बताउँदै उनले आमनागरिकको भगवानसँगको आस्थालाई जीवित राख्न १०८ फिट अग्लो शिव मूर्ति स्थापनाको कार्यलाई पूर्णता दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वमै वातावरणमा निकै असर पर्दा सङ्कट आइरहेको औँल्याउँदै वातावरण संरक्षणमा सबैले ख्याल राखेर अगाडि बढ्नुपर्ने औँल्याए ।

    सांसद थापाले विकासमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने आँैल्याउँदै यस क्षेत्रलाई धार्मिक क्षेत्रको लागि विकास गर्नका लागि सुरु भएको कल्पेश्वर महादेव मूर्ति निर्माणलाई सबैले पूर्णता दिनुपर्ने बताए । 

    नगरपालिकाका प्रमुख खत्रीले विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि कल्पेश्वर महादेव मन्दिरसम्मको क्षेत्र पूर्णरुपमा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक क्षेत्रको रुपमा रहेको बताउँदै यसको संरक्षण, विकासका लागि नगरकोट भ्रमण वर्ष–२०८२ आयोजना गरेको बताए ।

    उनले भने, “हाम्रै पालामा विकास सम्भव छ, त्यही सङ्कल्पका साथ नगरकोट भ्रमण वर्षको शुभारम्भ गरेका हौ । विकासमा सबैलाई जोड्दै लगेका छौँ, धार्मिक, आर्थिक र पर्यटन विकास र सिङ्गो चाँगुनारायणको समृद्धिको यात्रा थालनी गरेका छौँ ।”

    उनले बौद्धिककालदेखि नै तपोभूमि र देवभूमिका रुपमा रहेको यहाँका शिवालय र मन्दिरको दर्शन गर्नाले मोक्ष पाइन्छ भन्दै अपूरो रहेको १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निमाण चालू आर्थिक वर्षमै सम्पन्न गर्ने गरी अगाडि बढेको बताए । उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले कल्पेश्वर मन्दिर निर्माणका लागि थप बजेटको व्यवस्थापनका लागि मन्त्रीसँग छलफल गरेर निर्णय गर्ने बताए।

    कल्पेश्वर महादेवका मन्दिर एवं मूर्ति निर्माण समिति संयोजकसमेत रहनुभएका वडाध्यक्ष जनक खत्रीले नगरकोट भ्रमण वर्षमा कल्पेश्वर मन्दिर एवं मूर्ति निर्माण सम्पन्न गर्न धार्मिक पर्यटनलाई जोडेर लैजाने बताए । 

    उनले भने, “दुई महिना अगाडि यसै मन्दिरमा लगाइएको महायज्ञको दानबाट रु दुई करोड वचत भएको छ । कल्पेश्वर महादेवको बसेको मूर्तिको निर्माण सुरु भएको छ । यसका लागि तीन तहकै सरकारको सहयोगले यसै वर्ष यो अभियानलाई पूरा गर्नेछौँ ।”

    कार्यक्रममा शिव तान्त्रिक बुद्धिकृष्ण खड्गी, बद्रिप्रसाद नेपाललगायतले यस धार्मिक क्षेत्रका महत्व र आगामी योजनाका बारेमा चर्चा गरेका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij